Sunday, February 10, 2019

म 'घमण्डी डाक्टर' हुँ।

• म ओपिडी कोठामा एउटा विरामी हेरिरहदा अर्कोलाई छिर्न दिन्न, बाहिर जानुस् भन्छु। किनकी जसलाई जाँचिरहेको हुन्छु, उसलाई प्राथमिकता र समय दिनु मेरो धर्म हो। जाबो यत्ती देखाउन नि १० घण्टा कुर्नुपर्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म घाम ताप्दै चौरमा, चियापसलमा, बाटोमा विरामी जाँच्ने वा रिपोर्ट हेर्ने गर्न सक्दिनँ, चाहे विरामी जतिसुकै हतारमा होस्। किनकी विरामी जाँच्नु भनेको उसको स्वास्थ्यको जिम्मेवारी मैले लिनु हो, डाक्टर-विरामी सम्बन्ध स्थापित गर्नु हो। गफ गर्नु मात्र हैन। चिया गफ जसरी विरामी हेर्दा धेरै साना तर महत्वपूर्ण कुराहरु जानेर वा नजानेर छुट्छन्, मैले भोगेको छु। त्यसैले सहि तरिकाले ओपिडीमै राखेर विरामी हेर्छु। मान्छेहरु यत्ती जाबो हेर्न नि कुराउने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• इमर्जेन्सी भनेर ओपिडी आएको विरामीलाई कहिले इमर्जेन्सी जानुस् भन्छु, कहिले आफैंले लिएर जान्छु, कहिले अरु स्टाफलाई इमर्जेन्सी लगिदिनुस् भनेर ओपिडी पर्चामा लेखिदिन्छु। यस्तो इमर्जेन्सी नि हेर्न नखोज्ने भन्छन्।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म एकजना विरामीसँग बोलिरहेको बेला अरु विरामीको कुरा सुन्दिनँ, उसलाई कुराउछु। किनकी म एकैपटक दुई विरामी हेर्न सक्दिनँ, दुई तीन जनाका स्वास्थ्य समस्या समाधान गर्न सक्दिनँ। अनि कस्तो यत्ती कुरा नि नसुन्ने डाक्टर रैछ भन्छन्।
अनि म घमण्डी डाक्टर भनिन्छु।
• म नचिनेको नंबरको फोन उठाउदिनँ, जतिसुकै इमर्जेन्सी भए पनि सकेसम्म उठाउदिनँ। विरामीलाई मेरो जरुरत छ जस्तो लाग्छ भने म आफैं उनको नं लिन्छु र मेरो पनि दिन्छु। किनकी मेरो पनि व्यक्तिगत समय हुन्छ र फोनबाट डाक्टर-विरामी सम्बन्ध बन्दैन र म फर्स्ट अनकल पनि हैन, सेकेन्ड अनकल हुँ। तर अस्पताल र स्टाफको फोन उठाउछु।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म सामाजिक प्रतिष्ठा, पहुँच वा रवाफको आधारमा विरामीलाई प्राथमिकता दिन्नँ। नजिकको, टाढाको, धनी, गरिव भनेर छुट्ट्याउन्न। मैले हेर्नुपर्ने रहेछ भने म चाहिने समय दिएर राम्रैसँग हेर्ने सक्दो प्रयास गर्छु। पद, पहुँच र पैसालाई भाउ दिन्न।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• म नराम्रोलाई नराम्रो भन्छु, बेठिकलाई बेठिक भन्छु। ठिकै त छ, चलेकै छ भन्ने बानी छैन। बरु बेठिकलाई बेठिक मानेर सुधार गर्न प्रयास गर्छु तर यत्तिको ठिकै त हो भनेर चित्त बुझाउदिनँ।
अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
• यो कागजमा मात्र सिमित सिस्टम भएको देशमा म सिस्टममा चल्न खोज्छु, अरुलाई नि चलाउन खोज्छु। अनि म 'घमण्डी डाक्टर' भनिन्छु।
#cp
#arajaksystem

No comments:

Post a Comment